धनगढी ।
देशभर चर्किएको जनआन्दोलनकै बीच धनगढीस्थित परराष्ट्रमन्त्री आर्जु राणा देउवाको घरमा आन्दोलित प्रदर्शनकारीहरूले आज तोडफोड तथा आगजनी गरेका छन्।
प्रत्यक्षदर्शीका अनुसार बिहानदेखि सुरु भएको नाराबाजी क्रमशः उग्र बन्दै गएपछि ठूलो संख्यामा भेला भएका युवाहरूले देउवाको घरलाई लक्षित गर्दै ढुंगा प्रहार, तोडफोड र पछि आगजनी गरेका हुन्।
आगो नियन्त्रणका लागि दमकल र प्रहरी परिचालन गरिएको भए पनि ठूलो क्षति भएको प्रारम्भिक विवरण आएको छ। अहिलेसम्म मानवीय क्षतिको विवरण सार्वजनिक नभएको जनाइएको छ।
यस घटनापछि सम्पूर्ण धनगढी क्षेत्रमा उच्च सुरक्षा सतर्कता जारी गरिएको छ। यता प्रदर्शनकारीहरूले भने चेतावनी दिँदै भनेका छन्— “जनतालाई गोली हान्ने, दमन गर्ने सरकारले अब जिम्मेवारी लिनैपर्छ।”
राजनीतिक विश्लेषकहरूले घटनालाई मुलुकमा बढ्दो राजनीतिक अस्थिरता र जनआक्रोशको स्पष्ट संकेतका रूपमा लिएका छन्।