आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभर राजनीतिक सरगर्मी चुलिँदै गएको छ। यही सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा उम्मेदवार तथा समाजसेवी भरत प्रसाद पराजुलीले पार्टीका अग्रणी नेता तथा भावी प्रधानमन्त्रीका रूपमा चर्चामा रहेका बालेन्द्र शाह (बालेन) सँग विशेष भेटवार्ता गरेका छन्।
उक्त भेटघाटको जानकारी पराजुलीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। उनले बालेनसँगको भेटमा सिन्धुपाल्चोक–१ को दीर्घकालीन विकास मोडेल, पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्य सेवाको सुधार तथा स्थानीय रोजगारी सिर्जनाका विषयमा केन्द्रित गहन छलफल भएको बताएका छन्।
पराजुलीका अनुसार भेटमा स्थानीय आवश्यकतालाई राष्ट्रिय नीतिसँग कसरी जोड्ने भन्ने विषयमा साझा समझदारी बनेको छ। “सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ को समग्र विकासलाई प्राथमिकतामा राख्दै भावी कार्यदिशाबारे महत्वपूर्ण संवाद भयो,” उनले उल्लेख गरेका छन्।
राजनीतिक विश्लेषकहरूले यो भेटलाई निर्वाचनको मुखमा आएको अर्थपूर्ण सन्देशका रूपमा व्याख्या गरेका छन्। वैकल्पिक राजनीतिलाई संस्थागत गर्ने अभियानमा जुटेको रास्वपाले यस्ता भेटमार्फत नेतृत्व तह र स्थानीय मुद्दाबीचको सेतु मजबुत बनाउँदै गएको उनीहरूको बुझाइ छ।
भौगोलिक रूपमा संवेदनशील तथा विकासका हिसाबले पछाडि परेको सिन्धुपाल्चोक जिल्लाका विषय राष्ट्रिय नेतृत्वसँग प्रत्यक्ष रूपमा उठाइनु सकारात्मक संकेत भएको स्थानीयवासीको प्रतिक्रिया छ।
उल्लेखनीय छ, बालेन्द्र शाह झापा क्षेत्र नम्बर–५ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको मुख्य प्रतिस्पर्धीका रूपमा चर्चामा छन्। यो प्रतिस्पर्धाले राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ भने बालेनको भूमिकालाई धेरैले आगामी राजनीतिक समीकरणको निर्णायक कारकका रूपमा हेरेका छन्।
यसैबीच, सिन्धुपाल्चोक–१ मा पराजुलीको सक्रियता र पार्टीको शीर्ष नेतृत्वसँगको प्रत्यक्ष संवादले स्थानीय तहमा नयाँ राजनीतिक विकल्पप्रतिको भरोसा थप बलियो बन्दै गएको संकेत देखिएको छ।