मुस्ताङमा जलवायु परिवर्तनविरुद्ध घरपझोङ गाउँपालिकाद्वारा सम्मेलन हुने

Hari Bahadur Giri

मुस्ताङ, नेपाल — जलवायु परिवर्तनका कारण नेपालभर असर पर्न थालेको छ भने हिमाली जिल्ला मुस्ताङ विशेष प्रभावित भएको देखिएको छ। तापक्रम वृद्धि, अनियमित वर्षा र जलस्रोत सुक्दै जानुले यहाँको जनजीवन, कृषि र पशुपालनमा गम्भीर असर पारिरहेको छ।


यसै सन्दर्भमा मुस्ताङको घरपझोङ गाउँपालिकाले जलवायु परिवर्तनको चुनौतीबारे सचेतना जगाउने उद्देश्यले भदौ ३१ गते विशेष जलवायु सम्मेलन आयोजना गर्ने भएको छ। गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनका अनुसार, सम्मेलनमा देशभरका गाउँपालिका तथा नगरपालिकाका प्रमुख–उपप्रमुखसहित विज्ञहरूको उपस्थितिमा जलवायु परिवर्तनका असर र न्यूनिकरणका उपायबारे छलफल हुनेछ।

“जलवायु परिवर्तनले तराईदेखि हिमालसम्म असर पुर्‍याएको छ, त्यसैले सबै जनप्रतिनिधिले आ–आफ्नो क्षेत्रमा देखिएका समस्या र समाधानका उपाय साझा गर्नुपर्ने आवश्यकता छ,” अध्यक्ष लालचनले बताउनुभयो।

सम्मेलनपछि घरपझोङ जलवायु घोषणापत्र जारी गरिने र सहभागीहरूले जलवायु संरक्षणका लागि साझा प्रतिबद्धता जनाउने अपेक्षा गरिएको छ। आयोजकका अनुसार, मुलुकभरका ७५३ पालिकाबाट करिब ३ हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ। उनीहरूको बसोबासका लागि मार्फा, जोमसोम, स्याङ र ठिनीका होटल तथा होमस्टेमा व्यवस्था मिलाइएको जानकारी समेत दिइएको छ।

स्थानीय सरकारको यो पहलले जलवायु परिवर्तनबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ध्यानाकर्षण हुने विश्वास आयोजकले लिएका छन्।

प्रतिक्रिया