प्रधानमन्त्री कार्कीलाई मेयर बालेनको तीन माग : जेनजी आन्दोलन सम्बोधनदेखि क्याबिनेटमा नयाँ पुस्ताको सहभागिता सम्म

khabarday.com

काठमाडौं ।
संघीय सरकारसँग कहिलेकाहीँ तिक्त सम्बन्धमा रहने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का लागि बुधबारको बालुवाटार भेट विशेष रह्यो। बिहान ९ बजे प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालेन आफ्ना सहकर्मीहरू कुमार बेन र सुनील लम्सालसहित सरकारी निवास पुगेका थिए।

भेटमा मेयर शाहले तीन प्रमुख विषय उठाएः

पहिलो – जेनजी आन्दोलनकारीका माग तत्काल सम्बोधन
बालेनले सुशासन र उत्तरदायित्वको पक्षमा उठेको नयाँ पुस्ताको आन्दोलनलाई ढिला नगरी व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। यसबारे प्रधानमन्त्री कार्कीले नयाँ पुस्ताको साथ माग्दै सकारात्मक संकेत दिएकी छन्।

दोस्रो – भदौ २३ गोलीकाण्डमा संलग्नमाथि कारबाही
बालेनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहित हिंसामा संलग्नमाथि कारबाही नभएसम्म माग निरन्तर उठिरहने चेतावनी दिए। उनले दोषीलाई छिटो कारबाही गर्न आग्रह गरे।

तेस्रो – क्याबिनेटमा नयाँ पुस्ताको सहभागिता
मन्त्रिपरिषद्मा योग्य पात्र भए पनि नयाँ पुस्ताको प्रतिनिधित्व नभएको भन्दै उनले असन्तोष जनाए। बाँकी पदमा नयाँ पुस्ताका योग्य व्यक्तिहरूलाई मन्त्री बनाउन आग्रह गरे।

प्रधानमन्त्री कार्कीले तीनै मागलाई गम्भीरतापूर्वक लिएकी बताउँदै संविधान र कानुनसम्मत ढंगले सरकार अघि बढ्ने आश्वासन दिइन्।

भेटपछि उनीहरूले पारिवारिक र व्यक्तिगत विषयमा पनि लामो कुराकानी गरेका थिए। बालेनले कार्कीलाई “सुशीला आमा” भनेर सम्बोधन गरेको र यो चिनाजानी धेरै पुरानो भएको सहभागीहरूले बताए। कुमार बेनका दिवंगत पिता नरसिंह ब्यन्जनकारसँग पनि कार्कीको घनिष्ठ चिनजान रहेको उल्लेख गरिएको छ।

प्रतिक्रिया